काठमाडौं– युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्तिहरु स्वस्फुर्त र निष्पक्ष हुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रबाट खेलाडीहरु विदेश पलायन नहुने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताए। उनले स्काउटको जग्गा हडपेर बसेको कुरा स्पष्ट भएको भन्दै अब जग्गा फिर्ता लिने पनि जानकारी दिए।
पहिला पहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उनले अहिले आफूहरुले सपना देखेर सुत्न नसकेको बताए। रास्वापले ०८४ सम्म सुत्न छोडेर भए पनि देश विकासका लागि काम गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले आगामी सोमबारबाट खेल क्षेत्रको विकासका लागि एक्शनमा काम गर्ने प्रतिबद्धता जनाए। उनले खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र आफूले अबका दिनमा माथि लैजाने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।