बैतडी– बैतडीमा श्रीमान्को कोदालो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकी ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको हो
बिहीबार बिहान स्थानीय ६२ वर्षीय कृष्ण धामीले कोदालो प्रहार गर्दा पार्वतीसहित तीन जना घाइते भएका थिए। पार्वतीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदा मृत्यु भएको हो।
यस्तै कृष्णको कोदालो प्रहारबाट उनको घरमा डेरा गरी बस्दै आएका गाउँपालिकाको उद्यम शाखामा कार्यरत दशरथचन्द नगरपालिका–९ का २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन्।
घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि जिल्लाबाहिर लगिएको छ। गम्भीर देवराजको अवस्था चिन्ताजनक छ। प्रहरीका अनुसार कोदालो प्रहार गर्ने धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।