काठमाडौं- अभिनेत्री एवं निर्मात्री केकी अधिकारीले फिल्म 'बोक्सीको घर' मा काम नगर्न आफूलाई धेरैले सुझाव दिएको खुलासा गरेकी छिन्। एक अन्तर्वार्ताका क्रममा फिल्म 'बोक्सीको घर' मा कथित बोक्सी पात्र निर्वाह गर्दाको अनुभव सुनाउँदै उनले यस्तो खुलासा गरेकी हुन्।
फिल्म सुलक्षण भारतीले निर्देशन गर्ने सार्वजनिक भएपछि त्यस्तो सुझाव आएको केकीले बताइन्। 'निर्देशक सुलक्षण भारती कठिन निर्देशक पनि हुनुहुन्छ। लर्तरो मान्छेले उहाँसँग काम गर्न सक्दैन भन्ने भनाइ छ। उहाँसँग सहकार्य गर्ने कुरा बाहिरिएपछि धेरैले फोन गरेर पछाडि हट्न सुझाव दिनुभयो। उहाँ आफ्नो कामलाई लिएर यति गम्भीर हुनुहुन्छ कि अर्को व्यक्तिबाट पनि सोही किसिमको अपेक्षा राख्नुहुन्छ,’ उनले भनेकी छिन्।
निर्मात्री आफैं भएर पनि यो फिल्ममा काम गर्न केकीले अडिसन दिनुपर्यो। किनकि निर्देशक आफ्नो सोचमा खरो उत्रिने कलाकारलाई मात्र सो पात्र दिनुपर्छ भन्ने मान्यतामा अडिग थिए।
त्यसैले उनले केकीलाई स्पष्टसँग आफ्नो माग राखिदिए र भनिदिए, 'सोचअनुसार पात्रमा हुनुभएन भने निर्मात्रीको भूमिकामा रहनुहोला।'
फिल्मका लागि केकीको थुप्रै पैसा खर्च भइसकेको थियो र पछि हट्ने अवस्था थिएन। उनी पनि अभिनयमा खरिएकी अभिनेत्रीका रुपमा परिचित किन पछि हट्थिन।
उनले चुनौती स्वीकार गरिन्।
'म आफ्नै फिल्ममा आफैंले अडिसन दिएर आएकी हुँ। नत्र यो प्रोजेक्टका लागि यति खर्च भइसकेको थियो कि अरुलाई नै लिएर भए पनि बनाउनुपर्ने अवस्था थियो। यो कम्फर्ट जोनको क्यारेक्टर होइन। यसमा भ्वाइसमा काम हुनुपर्छ, बडी ल्यांग्वेज अर्कै देखिनुपर्छ। केकी देखिन मिल्दैन। यसकारण मसँग चारदेखि ६ साताको प्रतिबद्धता चाहिन्छ भन्नुभयो।'
उनी पात्र तयारीका लागि ठिक पाँच बजे कीर्तिपुर पुग्नुपर्थ्यो। पाँचै मिनेट मात्र ढिला भए भारती त्यहाँ उनलाई कुरेर बसिरहेको भेटिँदैनथे।
कठिन दैनिकी थियो। त्यसैले उनी बेलाबेलामा बीचमा फ्रस्टेड भइन्। उनको चित्त दुःख्थ्यो र उनी रुन्थिन्, चिच्याउँथिन् र मनमनै भन्थिन्- यस्तो घामड मान्छेसँग काम गर्दिनँ।
तर, कुनै विकल्प थिएन। फिल्म आफ्नो, त्यो पनि पैसा परिसकेको। फेरि कलाकार केकीलाई दिइएको एउटा चुनौती, उनको कलाकार मन किन पछि हट्न मान्थ्यो? आखिर आफ्नो अभिनय क्षमतामाथि एउटा परीक्षा जो थियो।
उनले आफूले आफैंलाई भनिन्- केकी तिमीसँग पछाडि हट्ने ठाउँ छैन।
'पट्टी बाँधेर म प्रत्येक दिन टीयूको जंगल एक घण्टा हिंड्नुपर्थ्यो। किनभने मेरो जंगलमा बस्ने बानी छैन। मलाई व्यक्तिगत रुपमा जुकासँग पनि डर लाग्छ। तर पात्रको मनोदशा मेरो अलग हुनुपर्यो। त्यो खालको यात्राबाट हामी गुज्रियौं। त्यसपछि भ्वाइस र बडी ल्यांग्वेजमा काम गर्न थाल्यौं। फिल्ममा मैले कपाल खौरिएकी पनि थिएँ।'
यसरी उनले निर्देशकको परीक्षा पास गरिन् र फिल्ममा दुई वटा भूमिका गर्न सफल भइन्। एउटा कलाकार अनि अर्को निर्मात्री।
उनी यो पात्रको यात्रालाई आफ्नो जीवनको एकदमै दर्दनाक अनुभवका रुपमा व्याख्या गर्छिन्। उनलाई पीडा महसुस हुन्छ।
'मेरो जीवनमा एकदमै दर्दनाक अनुभव भयो। जिन्दगीमा आफैंले भोगेको जस्तो लागेर सोच्दा पीडादायी पनि महसुस हुन्छ। योभन्दा अघि मैले कहिल्यै पनि पात्र निर्माणमा काम गर्ने मौका र समय पाएकी थिइनँ। एक त यो आफ्नो फिल्म पनि भयो। त्यो समय काम पनि कम थियो। संयोगवश एउटा अवसर पनि सिर्जना भएको थियो। मसँग ६ महिनाको समय थियो। तयारी गर्न समय पाएँ।'
फिल्ममा केकीको उनको मिहिनेतले रङ ल्याएको छ। उनी फिल्मको 'हिरो' आफू होइन भन्ने ठान्छिन्।
भन्छिन्, ‘बोक्सीको घरमा कन्टेन्ट नै हिरो हो।’
फिल्म वैशाख १४ गते रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।