चितवन- चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा जन्माईएको गिद्धका बच्चा निकुञ्जकै पश्चिम सेक्टरको सुरक्षित बासस्थानमा छाडिएको छ।
नवलपुरकोे कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा १२ वटा डंगर प्रजातिका गिद्ध छाडिएको छ।
चितवनको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा जन्मिएका ८ वटा र गुँडबाट ल्याई प्रजनन केन्द्रमा राखिएका ४ गरी १२ वटा डंगर प्रजातिका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको हो।
कसराबाट ल्याइएका १२ वटा गिद्धलाई फस्ट रिलिज एमिएरी (प्राकृतिक रुपमा छाडिनु पूर्व राखिने स्थान) मा राखिएको थियो।
पाँच महिना अघि वनको खुल्ला स्थानमा बाहिरी वातावरण हेर्न सक्ने गरी निर्माण गरिएको फस्ट रिलिज एमिएरीमा राखिएको थियो। पाँच महिनासम्म जाली युक्त बन्द खोरमा राखिएकोमा प्रकृतिमा घुलमिल हुन सक्ने अनुमान गरी छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए।
छाडिएका गिद्ध बाहिर खाना खाने, बाहिरका गिद्ध सँगको घुलमिल लगायतका गतिविधिसमेत निगरानी गरिने जटायु रेष्टुरेन्टका संयोजक डिबी चौधरीले बताए।
छाडिएका गिद्धको ढाडमा रेडियो कलर जडान गरिएको र यसैका माध्यमबाट गिद्धको अवस्थाको निगरानी गरिनेछ। छाडिएका गिद्धको पखेटामा नम्बर ट्याग समेत लगाईएकाले प्रत्यक गिद्धको अवस्था जानकारी लिन सकिने संयोजक चौधरीले उल्लेख गरे।
प्रजनन् केन्द्र कसरामा जन्मिएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडनु पूर्व कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्काले समुदाय स्तरबाट संंरक्षणको प्रयास नमूनाको रुपमा रहेको बताए। गिद्ध संरक्षणका लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताउदै उनले यसको उदाहरण जटायु रेष्टुरेन्ट भएको बताए।
कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा यसअघि समेत कसराको गिद्ध प्रजनन् केन्द्रबाट ल्याईएका ६ वटा गिद्ध छाडिएको थियो। ती मध्ये एउटाको मृत्यु भएकोमा बाँकी पाँच वटा पूर्ण रुपमा प्रकृतिका अन्य गिद्धसँग घुलमिल भएको रेष्टुरेन्टका संयोजक चौधरीले भने।
वि.स. २०६३ सालमा स्थापना गरिएको जटायु रेष्टुरेन्टमा अघिल्लो वर्षको तथ्याङ्क अनुसार २ सय ३ वटा गिद्ध छन्। स्थापनाको समयमा यहाँ ७ प्रजातिका ७२ वटा गिद्ध रहेको गणना गरिएको थियो। अहिले नेपालमा पाईने ९ प्रजाति मध्ये ८ प्रजातिका गिद्ध यहाँ पाइन्छ। चार प्रजातिका गिद्ध छन् भने बाँकी हिमाली क्षेत्रबाट जाडो मौसममा बसाई आउने गरेको संयोजक चौधरीले बताए।
नमूना मध्यवर्ती सामुदायिक वनको ५० हेक्टर क्षेत्रफल यस जटायु रेष्टुरेन्टले आगटेको छ। गिद्धका आहारका लागि वन भित्र नै वृद्ध गाईहरु पालिएको छ। गाई मरेपछी गिद्धको आहाराको रुपमा प्रयोग गर्ने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।