गौशाला- नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।
प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ निर्वाचन क्षेत्र रहेको महोत्तरीमा सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाइएको कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले बताए।
क्षेत्र नम्बर १, २, र ३ क्षेत्रीय समितिले सिफारिस गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको छ भने क्षेत्र नं ४ को नामावली आउन बाँकी छ। क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ। केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, सांसद सीताराम भण्डारी, पूर्वसांसद वसन्तकुमार गुरुङ, चिरन्जीवी हमाल र मुकेशराज काफ्ले सिफारिसमा परेका छन्। त्यसैगरी, समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ।
क्षेत्र नं १ को प्रदेशसभाको ‘क’ क्षेत्रका लागि प्रत्यक्षतर्फ ८ जनालाई सिफारिस गरिएको छ। ‘क’का लागि महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रह्लादकुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव सिफारिसमा परे। समानुपातिकतर्फ १८ जनाको सिफारिस गरिएको छ।
क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस भएको छ। त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नाम सिफारिश गरी पठाइएको छ भने समानुपातिकमा ७ जनाको नामावली पठाइएको छ।
क्षेत्र नं २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ महेन्द्र यादवसहित ७ तथा समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको सभापति रायले बताए। ‘ख’ मा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १० जनाको नामावली पठाइएको छ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ललनकुमार राय, बजरंग नेपाली र गरिबदास ठाकुरको नाम सिफारिस गरी पठाइएको छ भने समानुपातिकतर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, प्रदेशसभाका लागि ‘क’ क्षेत्रमा प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्षतर्फ ९ तथा समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।