रसुवा– रसुवाका गैरसरकारी संस्थालाई एकद्वार प्रणालीमा ल्याउन जिल्ला गैरसरकारी संस्था सहजीकरण कार्यविधि २०७५ पारित भएको छ। आईतबार सदरमुकाम धुन्चेमा सम्पन्न दोस्रो जिल्ला सभाले सो कार्यविधि पारित गरेको हो।
गैरसरकारी संस्थाको अनुगमन, मूल्याङ्कन, समन्वय र सहजीकरण व्यवस्थित बनाउनका कार्यविधि निर्माण गरेको जिल्ला समन्वय समिति रसुवाका सभापति कुलप्रसाद भट्टले बताए। ‘जिल्लामा सञ्चालित गैरसरकारी संस्थाले गरेका काम पारदर्शी नभएको र स्थानीय तहसँग समन्वय नगरी कार्य गरेको पाइएकाले कार्यविधि निर्माण गरेको हौ’ उनले भने।
संघीय, प्रादेशिक सरकार र अन्तर्गतका निकायमा दर्ता भएर जिल्लामा कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको गतिविधि पारदर्शी र मर्यादित बनाइने सभापति भट्टले बताए।
जिल्ला सभाले गैरसरकारी संस्था सहजीकरण कार्यविधिसँगै अनुगमन तथा मूल्याङ्कन कार्यविधि २०७५, जिल्ला समन्वय कार्यविधि २०७५ र जिल्ला गैरसरकारी संस्था सहजीकरण कार्यविधि २०७५ पारित गरेको जिल्ला समन्वय समिति रसुवाले जानकारी दिएको छ।
कार्यविधिमा गाउँपालिका तथा सरकारी कार्यालयमा गैरसरकारी संस्थाहरूसँग समन्वय गरी एक जना अधिकृत कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ। यसअघि गैरसरकारी संस्था र सरकारी निकायमा भएको दूरी कम गर्न सहयोग हुने गरी कार्यविधि निर्माण गरिएको जिल्ला समन्वय अधिकारी प्रदीप कुमार निरौलाले बताए।
जिल्लाका विभिन्न गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेका वा गरिरहेका गैरसरकारी संस्थाले प्रत्येक वर्ष जिल्ला समन्वय समितिले आयोजना गर्ने वार्षिक समीक्षा गोष्ठीमा आफ्नो प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको जिल्ला समन्वय समिति रसुवाले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।