काठमाडौं- न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ चन्डोल बस्नेहरू लमजुङ दोर्दी गाउँपालिका-७ घर भएका ३० वर्षीय रेशम गुरुङ र ३० वर्षीय गंगा गरूङ रहेका छन्।
उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं चन्डोलबाट पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।