सर्लाही– सर्लाही ब्रह्मपुरी गाउँपालिकामा शनिबार साँझ भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–९ का २६ वर्षीया नथुनी राय यादव र सोही स्थानकी १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ।
ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना२ख ८००३ नम्बरको बस ब्रह्मपुरी–१ महदेवा पोखरीनजिक साँझ ५ः३० बजे दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाइते भएकाहरुको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। घाइते हुनेमा अधिकांश महिला छन्।
घाइते हुनेमा चन्द्रनगर गाउँपालिका मोहनपुरकी ४० वर्षीया सलिमा खातुन, ५५ वर्षीया रबिया खातुन, ईश्वरपुर नपा–९ खैराकी ३६ वर्षीया देवकी साह, ४५ वर्षीया शान्ति देवी, १६ वर्षीया अंशुकुमारी मिश्रा, २२ वर्षीया निभादेवी ठाकुर, ईश्वरपुर रामनगरका २५ वर्षीय अमित ठाकुर, ४५ वर्षीया उर्मिला साह, ईश्वरपुर अनसनमाकी ६५ वर्षीया जलजलिया देवी महरा, २४ वर्षीय मनोज साह, ५५ वर्षीया प्रमशिला महरा, ईश्वरपुरर–११ करमुहानकी ३० वर्षीया समुन्द्री देवी, २४ वर्षीया अञ्जुदेवी साह, ४५ वर्षीया उर्मिला ठाकुर, ब्र्रह्मपुरी गापा–६ की ४२ वर्षीया जुलेखा खातुन, चन्द्रनगर बिर्ताका ७० वर्षीय वाजुल लहेरी, चन्द्रनगर गापा–१ की ३५ वर्षीया मञ्जुदेवी चौधरी, ७२ वर्षीया कलसिया देवी बैठालगायत छन्।
घाइते मनोज साहका अनुसार बाटोमा धेरै खाल्डाखुल्डी भएकोले बसको बायाँ पट्टा भाँचिएका कारण दुर्घटना भएको हो। पट्टा भाँचिएको ठाउँबाट केही अगाडि गएपछि बस दुर्घटनामा परेको उनले जानकारी दिए।
बाटोमा भएको खाल्डाखुल्डी पुर्न नदीबाट गिट्टी निकाल्न खोज्दा प्रशासनले रोक लगाएकाले खाल्डाखुल्डी पुर्न नसकेका कारण बस दुर्घटना हुन पुगेको सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहको आरोप छ।
प्रजिअ र सर्लाहीका सुरक्षा निकायका प्रमुखसँग पटक–पटक बैठक गरी बाटो मर्मतका लागि नदीबाट गिट्टी निकाल्न दिन आग्रह गर्दा पनि माथिको आदेश भन्दै नमानेकाले बस दुर्घटना हुन पुगेको उनले दाबी गरे।
यसैगरी अर्को दुर्घटनामा बसको ठक्करबाट अर्का १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ४५ वर्षीय आवास मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिहान ७ बजे सदरमुकाम मलङ्गवाबाट वीरगञ्जका लागि छुटेको ना२ख ४५०८ नम्बरको दाइभाइ बसले किच्दा उनको मृत्यु भएको थियो। बस चढ्न लाग्दा मन्सुुरको खुट्टा चिप्लिएर लड्दा सोही बसको पछाडिको चक्काले किचिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए।
उनले बस चढ्ने समयमा भीडभाड भएको र अर्को बसलाई दाइभाइ बसले ओभरटेक गर्न हतार गर्दा दुर्घटना हुन पुगेको बताए। दुर्घटनापछि स्थानीयवासीले मलङ्गवा नवलपुर सडकखण्डको लक्ष्मीपुरमा दुई घन्टा सडक अवरुद्ध गरेका थिए।
दुर्घटनालगत्तै बस चालकले बस लिएर हरिपुर इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। बस र चालक अहिले प्रहरी नियन्त्रणमा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।