महेन्द्रनगर–नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ शनिबार कञ्चनपुर बन्द गरेको छ। भीमदत्त नगरपालिका २ की निर्मला पन्तको बलात्कारपछि भएको हत्याको सत्य–तथ्य सार्वजनिक गर्न माग गर्दै नेविसंघले घोषणा गरेको विरोध कार्यक्रम अनुसार शनिवार कञ्चनपुरमा प्रदर्शन सहित बन्द गरिएको हो।
नेविसंघले बिहिबारदेखि ३ दिने दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको थियो। संघमा आवद्ध विद्यार्थी र सयौं स्थानीय बासिन्दा निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गदै प्रदर्शनमा उत्रिएका छन्। महेन्द्रनगर बजार तथा कञ्चनपुरका प्रमुख सहरमा टायर बाल्दै नाराबाजी गर्दै कञ्चनपुर बन्द गरेका हुन्।

निर्मलाको बलात्कारपछि हत्या भएको झन्डै दुइ महिना पुग्नै लाग्दा समेत न्याय दिलाउनका लागि सरकारले देखाएको लाचारीपन तथा ढिलासुस्तीको विरुद्धमा महेन्द्रनगर बजारका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरिएको छ। महेन्द्रनगर बजार क्षेत्रका पसल पूर्ण रूपमा बन्द भएको छ।
हत्यारा पत्ता लगाउन दबाब दिनका लागि प्रदर्शन गरिएको नेविसंघका विद्यार्थी नेता किशोर जोशीले बताए। घटना भएको झन्डै दुई महिना भइसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारी गर्न प्रदर्शन भइरहेको उनले बताए ।
यसअघि बिहिबार हत्यारा पत्ता लगाउन माग गर्दै महिलाहरूले रित्तो थाली बजाउँदै बजारमा प्रदर्शन गरेका थिए। हत्यारा खोजी गरिनुपर्ने भन्दै तीजका दिन महिलाहरूले कालो सारी लगाएर भीमदत्त बजार क्षेत्रको मदन चोकमा कालो तीज मनाएका थिए।
कंञ्चपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन। हत्यारा सार्वजनिक गर्न माग गर्दै शनिवार देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानले जनता भेला एवं प्रदर्शन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।