काठमाडौं– पोखरामा श्रृंखलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानरपालिका–१४ का २१ वर्षीय दीपेश परियार छन्।
उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार परियारले यही माघ १३ गते पोखराको जिरो किमीमा प्रतिक गुरुङले सञ्चालन गरेको बक्स क्याफेबाट १५ हजार र ४ बन्डल सूर्य चुरोट, २० हजार मूल्यको सामसङ मोबाइल, ४२ हजार पर्ने जिप्पो लाइटर १२ वटा समेत चोरी गरेका थिए।
परियारले माघ १ गते पोखरा लेकसाइडस्थित सुरेश भण्डारीले सञ्चालन गरेको सोल ओरिजिन क्याफेमा समेत चोरी गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त क्याफेबाट नगद १० हजार, वाइन, चुरोट, लेनोभोको ट्याब २ थान गरी ८७ हजार भन्दा बढी मूल्यको धनमाल उनले चोरी गरेका थिए।
माघ १३ गते मात्रै उनले सेन्टर प्वाइन्टमा रहेको रेस्ट्रो लज एण्ड बार भित्रबाट ३५ हजार नगद र सूर्य चुरोट चोरी गरेका थिए।
परियारले माघ १६ गते लेकसाइडमा रहेको विनोद मल्लले सञ्चालन गरेको एलिज क्याफेबाट २ हजार नगद, १० हजार पर्ने गितार र सूर्य चुरोट चोरी गरेको पाइएको पोखराका एसपी मोहन थापाले जानकारी दिए। माघ १६ गते नै लेकसाइडको फुट ट्रयाकमा रहेको केशव नेपालीले सञ्चालन गरेको सोपीनल दरबार खाजा घरबाट २ हजार नगद, रेड लेबल, ब्ल्याक लेबल, सिग्नेचर ओल्ड दरबार रक्सी र चुरोट समेत चोरी गरेका प्रहरीले जनाएको छ।
१६ गते नै उनले लेकसाइडमा बुद्ध गुरुङले सञ्चालन गरेको टोनिक लज एण्ड बारबाट नगद १३ हजार खुकुरी रम, सूर्य चुरोट चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।