गोरखा- गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ।
केही दिनदेखि परेको अविरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
'लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासि नागचेततर्फ बग्यो,' गाउँपालिका अध्यक्ष गुरुङले भने, 'बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो।'
शुक्रबार दिउँसोदेखि नै घट्टेखोला कहिले यता कहिले उता बग्ने गरेको स्थानीयवासीले आफूलाई जानकारी दिएको भन्दै उनले खोला नागचेततिर फर्किंदा बस्तीमा क्षति पुगेको बताए।
पहिरोले स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको छ। पहिरोले घर बगाएपछि पीडितलाई नजिकैको सुरक्षित स्थानमा राखिएको छ।
बस्तीमा खोला पसेपछि अन्य १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।