बाग्लुङ- बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडिगाड खोला पहिरोले थुनिएपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
गएराति साढे १२ बजे बाग्लुङको बडिगार्ड गाउँपालिका ७ तुरतुरे पहाडबाट सुक्खा पहिरो खस्दा खोला थुनिई करिब दुई किलोमिटर लामो ताल बनेको छ। बिहान साढे ५ बजेपछि पानी निकास भई बग्न थाले पनि तीन वटा घर र गोठमा पानी पसेको स्थानीयले बताएका छन्। उक्त पहिरोले बाग्लुङ-बुर्तिवाङ खरबाङ खण्ड सडकको केही भागमा पनि क्षति पुर्याएको छ।
बिहानदेखि बाँध बनेर जमेको पानी आफै बग्न थालेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिए। 'तर पनि किनारका बासिन्दालाई सचेत रहन भनेका छौं,' उनले भने, 'जोखिम टरेको भन्न सकिन्न।'
पहिरो खसेर खोला थुनिएपछि नजिकमा पर्ने बाग्लुङ र गुल्मीका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले सूचना जारी गरेको छ। ढोरपाटन नगरपालिका, निसिखोला गापा, बडिगाड गापाका साथै गुल्मीतर्फ मुसिकोट नपा, चन्द्रकोट गापा, छत्रकोट गापा, रुरु गापा, सत्यवती गापाम सतर्कता अपनाउन सूचित गरिएको छ।
बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा रातभर सुत्न सकेनन।
खबर प्राप्त भएपछि सम्पूर्ण सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेर किनारका बासीन्दालाई सुरक्षित स्थानमा लैजान सुरक्षाकर्मी खटाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले बताए। उनका अनुसार तीन वटै सुरक्षा निकाय परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।