काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानको जग्गा हडपेको आरोपमा पक्राउ परेकाहरु विरुद्ध कीर्ते र ठगीको कसुरमा अनुसन्धान सुरु गरिएको छ। बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी जग्गा हडेको आरोपमा उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी र बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनामाथि लिखत सम्बन्धी कसुर अन्तर्गतको कीर्ते र ठगीमा अनुसन्धान अघि बढाइने सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरुलाई अदालत उपस्थित गराएर म्याद थप गरिने र विस्तृत अनुसन्धान गर्ने सीआईबीले जनाएको छ।
सीआईबीले बिहीबार चौधरीलाई लैनचौरस्थित उनकै निवासबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको थियो। पक्राउ परेका दुवै जनालाई अहिले सीआईबीको कार्यालयमा राखिएको छ।
सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।
चौधरी गु्रपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ। उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत रहेका थिए। कुनै समय उक्त जग्गा दिएवापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो।
उक्त जग्गा अहिले अरुण चौधरी, उनकी श्रीमती शिला चौधरी, आम्रपाली कन्स्ट्रक्सनका अध्यक्ष सन्ज ठाकुर र केही सेयर विनोद चौधरी समेतको नाममा रहेको सीआईबी स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।