काठमाडौं– काठमाडौंमा आज (सोमबार) यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (३.२) डिग्री रेकर्ड गरिएको बताए।
यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम ३.५डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै सोमबार न्यूनतम तापक्रम ०.२ डिग्रीले झरेको हो। आज काठमाडौं उपत्यकामा पारदर्शीता (भिजिविलिटी) पनि घटेको छ। मौसमविद् पुडासैनीका अनुसार सोमबार बढी चिसो अनुभव भएको छ।
बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ। पुडासैनीले सोमबार काठमाडौंको भिजिविलिटी ३ हजार मिटर रहेको बताए। यसअघि ४ हजार मिटरमाथि नै हुने गरेकामा सोमबार भने भिजिविलिटी पनि घटेको हो। त्यसका कारण काठमाडौंमा सोमबार बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ। चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ। लागेको घाम पनि न्यानो खालको छैन।
तराईमा बाक्लो हुस्सु र कुहिरो
महाशाखाले देशभर नै चिसो बढिरहेको बताएको छ। तराईका भू–भागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि पुडासैनीले बताए। त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ।
आइतबार रेकर्ड गरिएको तथ्याङ्कअनुसार जुम्लामा माइनस ५.६ डिग्री, जोमसोम माइनस ५ डिग्री र दोलखाको जिरी मा १ डिग्री तापक्रम रेकर्ड गरिएको छ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ महाशाखाले सबैमा अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।