लमही– दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।
बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस आइतबार राति करिब ११ बजेदेखि दाङको लमही नगरपालिका–९ निहार नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ घर भएका ३६ वर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी छन्। मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ।
बसमा ४७ जना यात्रुहरु सवार रहेकामा अन्य यात्रुहरु भने सकुशल रहेका छन्। बस चालक सामान्य घाइते भएका र उनको कोहलपुरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। पट्टा भाँच्चिएपछि बसको अगाडि बसेका २ जना हुत्तिएर च्यापिन पुगेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
केही दिन अगाडि मात्रै दाङमै भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो बाँकेको कोहलपुरबाट काठमाडौं जाँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।