काठमाडौं– एक वर्षदेखि सँगै बस्दै आएकी एक महिलाको हत्या गरेर फरार रहेका भारतीय नागरिक घटनाको तीन महिनापछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार प्रदेश दरभङगा जिल्लाको लालबाग थाना घर भइ काठमाडौं–१३ कालीमाटी बस्दै आएका ४३ वर्षीय इकरामुल हक अन्सारी रहेका छन्।
तनहुँको भिमाद नगरपालिका घर भइ हाल काठमाडौं महानगरपालिका–१५ सोभा भगवती स्वयम्भूस्थित बस्दै आएकी ५१ वर्षिया सफिना मियाँ रहेको हत्या आरोपमा अन्सारीलाई माघ ३ गते पक्राउ गरिएको हो।
एक वर्षदेखि सँगै बस्दै आएका मियाँ र अन्सारी गत कात्तिक पहिलो सातादेखि सम्पर्कविहीन थिए। तीन महिनासम्म पनि कोठामा ताला लगाएर सम्पर्कविहीन भएपछि घरभेटी सरिता गिरीले माघ ३ गते प्रहरीलाई खबर गरेकी थिइन्। तत्काल जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले स्थानीयको सहयोगमा ताला फुटाइएको थियो।
ताला फुटाउँदा सडेगलेको अवस्थामा शव फेला परेको थियो। पहिचान हुन नसक्ने अवस्थामा रहेको शव कसको हो भन्ने बुझ्दा नजिकका मानिसहरुले सफिना भएको पुष्टि गरेका थिए।
अन्सारी पक्राउ परेपछि उनीहरुको चिनजान एक वर्षपहिले भएको र त्यसयता संगै बस्दै आएको खुलेको हो। सँगै बस्दै आएका उनीहरुबीच भदौयता बेलाबेला विवाद हुन थालेको थियो। प्रहरीसमक्ष अन्सारीले दिएको बयान अनुसार कात्तिकको पहिलो साता मदिरा सेवन गरेर आएका अन्सारीले सफिनालाई कुटपिट गरेका थिए। त्यसपछि ढोकाभित्रबाट लगाउने आग्लोले हानेर घाइते बनाए।
पछि सलले मुख थुनेर खाटमुनि लुकाएको र उनी ढोकामा ताला लगाएर भारततिर लागे। तीन महिनासम्म पनि घटनाबारे कसैलाई जानकारी नभएको पक्का गरेर पुस १० गते नेपाल फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।