प्रतिकात्मक तस्बिर
लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्यागेस्थित घरमा भएको आगलागीमा परेर १ जना महिलाको मृत्यु भएको छ। बिहीबार राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उनको भनाइ छ।
बेँसीशहर नगरपालिका–२ घर भएको श्रेष्ठ परिवार करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो। बाहिर फलामको खामोसहित सटर र जस्तापाताको छानो रहेको घरका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
४ जनाको परिवार रहे पनि श्रीमान् र श्रीमती मात्रै त्यहाँ बस्दै आएका थिए। छोराछोरी काठमाडौंमा बस्दै आएका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।