काठमाडौं– सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमाण्डमा सशस्त्र प्रहरी बलको एउटा टोली राजस्व अनुसन्धान कार्यालय हरिहर भवनमै बस्छ। राजस्व चुहावट नियन्त्रण र कारबाहीका लागि लागि यो टोलीले काम गर्दै आएको छ।
राजस्व अनुसन्धान विभागको प्रत्यक्ष निर्देशन काम गर्दै आएको सशस्त्रको यो टोलीलाई केही दिनअघि एउटा गोप्य सूचना आएको थियो। सशस्त्रकै हेडक्वार्टरमा रहेको इन्टेलिजेन्स ब्यूरोले हुण्डी, क्रिप्टो लगायतको अवैध कारोबार गरी राजस्व छलि भइरहेको सूचना पाएपछि उक्त सूचना राजस्वमा खटिएको सशस्त्रको टोलीलाई दिइएको थियो।
सोही सूचनाको आधारमा राजस्व विभागमा रहेको सशस्त्रको टोलीसहितले बिहीबार दिउँसो ३ बजेदेखि उपत्यकाका ४ ठाउँमा अपरेशन गरेर ४ जनालाई पक्राउ गर्नुको साथै २ करोड बढी रकम समेत बरामद गरेको छ। बिहीबार दिउँसो ३ बजेबाट सुरु भएको अपरेशन शुक्रबार बिहानीपख ४ बजेसम्म चलेको थियो।
सुरुमा हनुमान ढोका क्षेत्रमा अपरेशन चलाइएको थियो। हनुमानढोकाको मखनबाट थर नखुलेका दीपक नाम गरेका व्यक्तिलाई ३५ लाखसहित पक्राउ गरिएको थियो। उक्त अपरेशन सकिएपछि ताहचलमा अपरेशन सुरु भएको थियो। ताहचलबाट ७३ लाख रुपैयाँसहित मोहन साह नाम गरेका व्यक्ति पक्राउ परेको राजस्व विभाग स्रोतले जाननकारी दिएको छ।
त्यसपछि कलंकीमा अपरेशन सुरु भएको थियो। कलंकीबाट २३ लाख रुपैयाँसहित विवेक कार्की नाम गरेका व्यक्ति पक्राउ परेका छन्।
अन्तिममा यो अपरेशन क्षेत्रपाटीमा आएर बिहान ४ बजे टुंगिएको थियो। क्षेत्रपाटीबाट १ करोड रुपैयाँभन्दा बढी रकमसहित नरेश अग्रवाल पक्राउ परेका थिए। यो सबै एउटै चेनको रुपमा हुण्डीको कारोबार देखिएको विभाग स्रोतले जनाएको छ।
अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ। अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ।
अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।