काठमाडौं- ६ करोड रुपैयाँ ठगीमा दोषी ठहर हुँदै जेल परेका अस्मोसिस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोजकुमार भण्डारी सहितका व्यक्तिविरुद्ध फेरि पौने २ करोड ठगीको मुद्दा परेको छ।
नयाँ बानेश्वरमा रहेको अस्मोसिस सहकारीका अध्यक्ष ४१ वर्षीय भण्डारीसहित ९ जनालाई प्रतिवादी बनाउँदै पौने २ करोड ठगीको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। सहकारीको रकम अपचलन गरी बचतकर्तालाई ठगी गरेको कसुरमा भण्डारी यसअघि नै दोषी ठहर भएर अहिले जेलमा छन्।
फेरि भण्डारी सहित ९ जना विरुद्ध ३८ बचतकर्ताले १ करोड ७६ लाख ८४३ रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए। सोही मुद्दा अहिले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको हो। भण्डारी थुनामै रहेकाले उनी पक्राउ प्रतिवादी बनेका छन्। बाँकी ८ जनालाई भने फरार प्रतिवादी बनाइएको छ।
फरार प्रतिवादीहरुमा सहकारीका उपाध्यक्ष शिवभक्त पोखरेल, सचिव परशुराम दाहाल, कोषाध्यक्ष डिल्लीराज भट्ट, सदस्य शिवराज ओझा, सदस्य गणेशमान श्रेष्ठ, सदस्य लक्ष्मीप्रसाद ओझा, सदस्य शिाखा भट्ट र अर्का सदस्य अनु भट्टराई सापकोटा छन्।
सहकारीमा रकम बचत गर्दा राम्रो ब्याज दिने भन्दै प्रलोभनमा पारेर रकम बचत गर्न लगाई फिर्ता नगरी ठगी गरेको आरोप उनीहरुमाथि छ।
यसअघि नै यो सहकारीले ६ करोड ठगी गरेको भन्दै उजुरी परेको थियो। जसमा जिल्ला अदालत काठमाडौंले गत असार २४ गते उक्त ठगीको फैसला गर्दा मनोज भण्डारीलाई २ वर्ष कैद र ५० हजार जरिवानाका साथै जाहेरवाला, शारदा सिंहलाई १ करोड राजेश्वरी सिंहलाई ५ करोड गरी ६ करोड बिगो भराउन फैसला समेत गरेको थियो।
कसको कति रकम ठगी?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।