काठमाडौं– वैवाहिक बलात्कारको अभियोग लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएन।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा पेसी रहे पनि हेर्न नभ्याउने हुँदै पेसी सरेको हो। न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनकी श्रीमती आरतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
यसअघि न्यायाधीश गिरीविरुद्ध पत्नी आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। दुबै अदालतले न्यायधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए।
त्यसपछि आरती उच्च अदालत पुगेकी थिइन्। उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरेको थियो। जिल्ला र उच्चको आदेशविरुद्ध पुर्पक्षमा राखेर मुद्दाको फैसला गर्नुपर्ने मागसहित पत्नी आरती सर्वोच्चमा पुगेकी थिइन्।
सर्वोच्चमा पेसी चढ्नु केही दिन पहिले मात्रै आरतीले सर्वोच्च परिसर अगाडि पुगेर आत्मदाहको प्रयास समेत गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।