काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ।
असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन्। कोइराला पनि सो नियुक्त प्रक्रियाका क्रममा प्रतिष्पर्धीका रूपमा सहभागी भएका थिए।
तर सो पदमा नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिम) बाट भएको कोइरालाले आरोप लगाए। महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल थिए। उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने धम्की दिए।
कुल ६१ आवेदनबाट सर्ट लिस्ट गरी अन्तर्वार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो। ६ महिनाअघि जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो। तर, नियुक्ति भएपछि पनि विवादमा परेको छ।
क्यानले महाप्रबन्धक लागि दोस्रो पटक आवेदन माग गरेको थियो। क्यानमा नयाँ नेतृत्व आएसँगै पुरानो प्रक्रियाबाट छनोट भएकालाई रद्द गरेको थियो।
तर, त्यो विवादमा परेपछि पुरानोसहित कूल ६८ जनाले महाप्रबन्धकका लागि आवेदन दिएका थिए। त्योमध्ये सर्ट लिस्टमा १४ जना परेको र अन्तर्वार्तामा सात जनालाई बोलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।