काठमाडौं– यात्रुलाई ठगी गर्ने ३३७ ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिई कारबाही गरेकाे छ । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडाअसुल्ने, मिटरमा जान नमान्ने र मिटर बिगारेर यात्रु ठग्ने ट्याक्सी चालकलाई कारबाही गरिएकाे महाशाखाले जनाएकाे छ।
महाशाखाले बढी भाडा लिई यात्रुलाई सताउने ट्याक्सी चालकविरुद्ध भदाै २१ गतेदेखि विशेष अभियान चलाइरहेकाे छ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए। “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि विशेष अभियान सञ्चालन गरेका हौं”, उनले भने, “यात्रु ठग्ने ट्याक्सी चालकलाई कारबाहीका लागि निरन्तर अभियान सञ्चालन गरिन्छ। ”
महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ। नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत तीन हजार रुपैयाँसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको पाइएको बताए। “सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंशले ठगी गरेको पाइयो”, उने भने।
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।