सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई यातायात सेवा आजदेखि सुरु भएको छ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ‘नाइन–एन एकेजेट कलसाइन’ जहाज चढेर सो सेवाको उद्घाटन गरेका हुन्। उनीसँगै उक्त जहाजबाट आज १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरेका थिए।
साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको प्रदेश राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा सुरु गरिएको मन्त्री बुढाले बताए। ‘यो सेवाको शुभारम्भले नागरिकको सेवा र पहुँच मात्र बढ्ने छैन,’ उनले भने, ‘यसले यहाँको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पुर्याउने छ।’
सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर ३ हजार ९ सय ६५ रुपैयाँ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिए। प्रबन्धक शाहीका अनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई उडान गरिनेछ।
सुर्खेत–जुम्ला सिधा हवाई उडानका लागि भने गो कर्णाली टुर्स एन्ड ट्राभल्स प्रालिसँग सम्झौता भएको उनको भनाइ छ।
जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गर्ने जानकारी दिए।
मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि १ करोड ५० लाख रुपैयाँ, सिञ्जा उपत्यकाको विकास गर्न १ करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।