राष्ट्रपतिको उपचार गर्न सरकारले दियो थप १० लाख, समाचारको शीर्षक छ। उक्त समाचारलार्इ ट्विट गर्दै, विकासविद् सूर्यराज आचार्य लेख्छन्, ‘आम जनताको धैर्यताको बाँधमा पानीको सतह/चाप निरन्तर बढ्दो छ। कुनबेला फ्याट्ट ला'र बाँध फुट्ने हो, था’ छैन।’
समाचारमा ‘राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ। २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरण अनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको छ। साथै समाचारमा गत आर्थिक वर्षमा सरकारले राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ उपलब्ध गराएको थियो।
सरकारका गतिविधि र राष्ट्रपतिका कार्यबारे प्रतिक्रिया व्यक्त गर्ने आचार्य प्रतिनिधि पात्र हुन्। किनकी पछिल्ला दिनमा गणतन्त्रप्रति नै सार्वजिनक रूपमा अविश्वास प्रकट भैरहेका बेला आचार्यको प्रतिक्रिया प्रतिनिधिमुलक अभिव्यक्ति हो। त्यसैले बेलैमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतका उच्च पदमा आसिन पदाधिकारीले मित्यव्ययीता अपनाउन आवश्यक छ। त्यसो त केही दिनअघि प्रधानमन्त्रीकी छोरी रेनु दाहालले छोरीको बिहे राजसी ठाँटमा भव्य होटलमा गरेर मित्यव्ययीताको खिल्ली नै उडाइन्। त्यसले नागरिकमा राजा फालेको देशमा राजशाही आचरण गएन भन्ने सर्वत्र चर्चा छ।
तत्कालीन भारतमा चन्द्रगुप्त मौर्यका गुरु एवं प्रधानमन्त्री चाणक्य सामान्य झुपडीमा बस्थे। एक साँझ उनीसँग भेट गर्न आफन्त आएछन्। ती व्यक्ति प्रवेश गर्नासाथ उनले बलिरहेको दियो निभाएर अर्कै दियो बालेछन्। यो देखेर आगन्तुकलाई अचम्म लागेछ। उनको जिज्ञासा शान्त पार्न चाणक्यले भने, ‘यो सरकारी तेलबाट बलेको थियो। त्यसैले निभाएर अर्को दियो बालेको हुँ। किनकि तपाईं मेरो व्यक्तिगत अतिथि हुनुहुन्छ। व्यक्तिगत अतिथिका लागि सरकारी तेल बाल्नु फजुल खर्च हुन आउँछ।’
भारतमा शासन र शासकहरूको कुरा गर्दा अहिले पनि चाणक्यबारे चर्चा हुन्छ। माथिकै प्रसंगमा आधारित जीवनशैली त्यहाँका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम आजादले पनि देखाएका थिए। उनको जीवनशैली शासक सबैका लागि प्रेरक हुन सक्छ।
कलामको जीवनमा सादगी, मितव्ययीता र इमानदारीजस्ता अनुकरणीय गुण रह्यो। राष्ट्रपति भएसँगै उनीसँग भेट गर्न केही आफन्त केरलबाट दिल्लीस्थित राष्ट्रपति कार्यालय आएछन्। सबैलाई राष्ट्रपति भवन ल्याइएछ। उनीहरूलाई ल्याउँदा सरकारी सवारी उपयोग नगर्न कलामले अनुरोध गरे। राति बास पनि सरकारी अतिथिगृहमा नराखेर अन्यत्रै व्यवस्था गरिएछ।
करिब एक हप्ता बसेका अतिथिका लागि खर्चबापतको ३ लाख ५४ हजार ९ सय रुपैयाँ उनले आफैंले भरण गरेका थिए। कार्यकाल पूरा गरेपछि उनलाई बिदाइ सन्देश दिन आग्रह गरियो। त्यस बखत उनले ‘म अझै पनि एक अर्ब देशवासीसँगै छु, कसरी बिदाइको सन्देश दिऊँ?’ भनी जवाफ दिएका थिए।
राष्ट्रपति भएकै बखत उनलाई बनारस हिन्दू विश्वविद्यालयको आईआईटीको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याइयो। मञ्चमा लहरै ५ वटा कुर्सी राखिएका थिए। बीचको कुर्सी अन्यभन्दा ठूलो थियो, जुन राष्ट्रपतिलाई थियो। तर उनी उक्त कुर्सी छाडेर सामान्य कुर्सीमा बसे।
कार्यक्रमका सभाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपतिले ‘राष्ट्रपति महोदय, यो ठूलो कुर्सी हजुरलाई हो’ भने। तर उनले जवाफ दिए, ‘म सानो कुर्सीमै बस्न रुचाउँछु।’ त्यसपछि उपकुलपतिले पनि सामान्य कुर्सी मगाएर आसन ग्रहण गरे।
कलाम राष्ट्रपति भएपछि पहिलोपटक केरेलको त्रिवेन्द्रम पुग्दा उनी बसेको सरकारी भवनमा भेट्न जाने पहिलो व्यक्ति जुत्ता सिउने मोची थिए। त्यसपछि उनले खाना खाने सामान्य झोपडी होटलका मालिक पुगेका थिए। विगतमा कलामले देखाएको आत्मीय व्यवहार कै कारण उनी त्यहाँ गएका थिए। वैज्ञानिक एवं अनुसन्धानरत विद्यार्थी भएर कलामले धेरै वर्ष त्रिवेन्द्रममा बिताएका थिए।
आज कलाम छैनन् तर पनि भारतमा आदर्श व्यक्तिको गणना गर्दा उनको नाम छुट्दैन। उनको जीवनशैलीबाट प्रेरणा लिन सके शासकहरू जनताबाट तिरस्कृत हुन पर्दैन। सादा जीवन र उच्च विचारका साधक कलाम राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि भएर नेपाल पनि आएका थिए।
यहाँ कलामलाई स्मरण गर्नुको कारण भन्न नपर्ला, किनकी राष्ट्रपति भए कै बखत पनि सामान्य जीवन यापन गरेर देश र जनताको विश्वास जित्न सकिन्छ भन्ने हो। त्यसो त अघिल्ला दुई राष्ट्रपति रामवरण यादव र विद्या भण्डारीले नपनाएको जीवन शैली मैले किन अपनाउने भन्न सक्नु हुन्छ?
तर उहाँहरू भन्दा चिन्तन र अनुभवका हिसावले तपार्इं फरक र परिपक्क देखिनु हुन्छ भन्ने नागरिक विश्वास थियो। राष्ट्रपति भएलगत्तै बिरामी भएर भारत जाँदा उपचार खर्च आफैं व्यहोर्ने बताउनु भएको थियो। तर सरकारले उक्त बखत ५५ लाख रूपैयाँ व्यभार गरेको समाचार सार्वजनिक भयो। यस पटक पनि १० लाख रूपैयाँ खर्च भएको सार्वजनिक भएको छ। त्यसले तपाईंप्रतिको सम्मानमा आँच पैदा भएको छ।
त्यो आँच भनेको तपार्इंप्रति मात्र हैन, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति हो। यतिबेला सबै क्षेत्रमा वेथिति बढेका बेला त्यसलार्इ नियमन गर्ने जिम्मेवारी तपाईंको पनि हो। तपाईंको उपचारमा सरकारले खर्च गर्न हुन्न भन्ने हैन। तर त्यो खर्च कहाँ कसरी भयो भन्ने हो? तपाईंको सचिवालयका नियुक्ति बारे पनि नागरिक चासो र असन्तुष्टि छ। किनकी तपाईं बीपी कोइरालाका अनुयायी एवम् समाजवादी परिचय बनाउनु भएको व्यक्ति हो।
कोइराला आफैं प्रधानमन्त्री रहँदा स्वयम् आफ्नो बेतन कटौती गर्नुभएको प्रशंगबारे स्वयम् जानकार हुनुहुन्छ। त्यसो त यतिबेला जाजरकोटको भूकम्प पछि घरबासविहीनहरुमध्ये चिसोका कारण तीन दर्जन बढीको ज्यान गएको छ। उनीहरूको अवस्था बारेमा तपाईंलाई छट्पटी हुनु पर्ने हो।
जसरी भारतमा राष्ट्रपति कलामले एउटा आदर्श स्थापना गरे त्यस्तै आदर्श तपाईंले पनि गर्नुहुनेछ भन्ने नागिरक अपेक्षा थियो तर यतिबेला त्यो अपेक्षा भष्म भएको छ। त्यसैले आगामी दिनमा यस्ता समाचारप्रति सजगता अपनाउनु हुनेछ भन्ने अझै पनि नागरिक विश्वास छ।
सजगता अपनाउन सक्नु भएन भने नेपालको गणतन्त्रमा आदर्श पुरूषको अभाव भैरहेका बेला आचार्यले भने जस्तै जनताको धैर्यताको बाँध फुट्यो भने केले सिउने, केले टाल्ने...?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।