पाटन/बैतडी– २० वर्षीय एक महिलाले श्रीमान्बाट मनाकसिक हिंसा सहेर बसिन् । समाजमा के भन्लान भनेर जति सहँदै आएकी पाटन नगरपालिकाकी ती महिलामाथि श्रीमान्ले झन यातना थप्दै गए।
शरीर नै थिलोथिलो हुनेगरी कुटपिटमा परेकी उनको पाटन नगरपालिकाले राखेका सामुदायिक सहजकर्तासँग एक दिन भेट भयो।
बाटोमा रुँदै बिलौना पोखिरहेकी उनलाई लैगिंक हिंसा न्यूनीकरणका लागि काम गर्दै आएकी मनोसमाजिककर्तासँग भेट भएको थियो। सोधपुछ गर्दा पीडित महिलाले आफूलाई श्रीमान्ले गरेको ज्यादतीबारे बेलिविस्तार लगाइन्।
श्रीमान्को हिंसाबाट प्रताडित उनी आत्महत्या गर्नेसम्मको सोचमा पुगेकी थिइन्। शंका गर्दै श्रीमान्ले दैनिक कुटपिट गरेर बसिखान नदिएको पीडा सुनाएपछि उनलाई सामुदायिक सहजकर्ताले केही दिनका लागि पाटन नगरपालिकामा रहेको अल्पकालीन सुरक्षित आवास गृहमा ल्याइयो।
आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन कानुनी सहायता दिँदै इलाका प्रहरी कार्यालय पाटनमा मुद्दा दर्ता गर्ने तयारी पनि भयो। तर महिलाले आफ्ना श्रीमान् सुध्रिने आशा रहेको भन्दै छलफलका लागि बोलाइदिन अनुरोध गरिन्।
केही दिनपछि उनका श्रीमान् घर लैजाने भन्दै आए। जनप्रतिनिधिको रोहवरमा छलफल गरी सम्झाएर पठाइयो। उनले सेफ हाउसलाई धन्यवाद दिँदै आफू सुध्रिने वाचा गर्दै श्रीमतीलाई घर लगे।
पीडित महिलाले सेफ हाउसलाई धन्यवाद दिँदै भनिन्, ‘मेरो माइती घर सेफहाउस भयो, श्रीमान्ले कुटपिट गरे। माइत जान्थेँ, न्याय पाउथे, मैले यहाँ आएर न्याय पाएँ।’
उनका लागि मात्र होइन, बैतडीको पाटन नगरपालिका–६ मा रहेको अल्पकालीन सुरक्षित आवास गृह अहिलेसम्म ६ सय १ महिलाका लागि माइती घर बनेको छ।
घरमा विवाद हुँदा वा समस्या पर्दादेखि बलात्कृत महिला तथा बालबालिका र बेचविखनमा परेका महिला बालबालिका लागि माइती घर बनेको छ।
२०७३ सालमा स्थापित सेफहाउस बैतडी जिल्लामै एक मात्र छ। यहाँ बाहिरी जिल्लाकालेसमेत सेवा दिने गरेका छन्।
शारीरिक हिंसा १ सय ९० जना, बहुविवाह ५८ जना, मानव बेचविखनमा ८ जना, घरेलु तथा मानसिक हिंसा, २ सय २६ जना, समाजिक हिंसा १ जना, सम्बन्ध–विच्छेद ८, बाल विवाह ५ जना, अन्य १२ जनाले स्थापनादेखि अहिले सम्पर्क सेवा दिएको सेफहाउसमा कार्यरत मनोविर्मशकर्ता डम्बरी भट्टले बताइन्।
सेफहाउसले कानुनी प्रक्रियादेखि केही संघ संस्थाहरुको सहयोगमा पुनःस्थापनका कार्यक्रमहरुसमेत सञ्चालनले हिंसा प्रभावित मिना दमाई (नाम परिर्वन)को दैनिकी फेरिएको छ। ठेला बनाएर व्यापारमा खटाएपछि मीनाको आम्दानीको स्रोत पानीपुरी बन्नुका साथ जीवन फेरिएको छ।
उनले भनिन्, ‘घरबाट तिरस्कारमा परेकी थिएँ सेफहाउसले सुरक्षा गरेर रोजीरोटीसमेत दिएको छ माइती घरभन्दा ठूलो मान्छु।’ अहिलेसम्म विभिन्न संघ–संघस्थाको सहयोगमा प्रभावित महिलालाई व्यवसायिक सीप सिकाउने तथा आत्मनिर्भर बनाउन जागिरका लागि समन्वय गरिदिनेसम्म सेफहाउसले गर्ने गरेको मनोविर्मशकर्ता भट्टले बताइन्।
हिंसा प्रभावितको गोपनीयता संरक्षणका लागि सुरक्षित घरमा राखिएको छ। उनलाई न्यायिक लडाइँ नसकिएसम्म कम्तीमा तीन महिना सेफहाउसले राख्ने गर्छ। गार्डेन तथा भान्सेसहित तीन जना कार्यरत छन्। मानसिक समस्याका बिरामी व्यवस्थापन गर्न थप समस्या छ।
अहिले समाजिक विकास कार्यालय बैतडी, युएनफपीएको आर्थिक सहयोगमा साथी संस्था, सिएमसी नेपाल लगायतले सहयोग गर्ने गरेका छन् भने नगरपालिकाले पनि समन्वयको जिम्मा लिएको छ। सञ्चालक समिति सक्रिय नहुँदा तीन वर्ष अघिसम्म अध्यक्ष रहेकी मनोविमर्शकताको काम गरिएकी डम्बरी भट्टले संस्थाको अधिकांश काम गरिरहेकी छन्।
बैतडी जिल्लाको एक मात्र सेफहाउस अर्थात् माइतीघर कहिलेसम्म निरन्तर चलिरहन्छ भन्ने निश्चित छैन। विभिन्न संघ, संस्था र प्रदेश सरकारले सहयोग गर्दासम्म मात्र सञ्चालन हुने हो कि भन्ने डर धेरै सरोकारवालाहरुको छ। तर पाटन नगरपालिकाका बैतडीले आफ्नो क्षेत्र भित्र पर्नेगरी अल्पकालीन सुरक्षित आवास गृह सञ्चालन कार्यविधि कार्यपालिकाबाट पास गरेर स्थानीय राजपत्रमा प्रकाशित गरेको छ।
यसमा ‘सेवा क्षेत्रका स्थानीय तहहरुबाट आर्थिक संकलन गरी नगरपालिका आफैंले सञ्चालन तथा व्यवस्थापन गर्ने छ’ भनेर उल्लेख छ। तर पाटन नगरपालिकाबाहेक यहाँका कुनै पनि स्थानीय तहले बजेट सेफहाउसका लागि विनियोजन गरेको देखिँदैन।
केही दिनमै सेफहाउस सञ्चालनका लागि सेवा क्षेत्रका स्थानीय तहसँग बजेट मागका लागि नगरपालिकाले स्थानीय तहहरुमै जाने योजना बनाएको पाटन नगरपालिका उपप्रमुख कमल सिंह बोहरा (अपी)ले बताए। कार्यविधि अनुसार स्थानीय तहहरुलाई बजेट मागका लागि जाने तयारी भइरहेको उनले बताए।
‘पाटनले सञ्चालन गर्ने जिम्मा लिएको छ। सबै क्षेत्रका नागरिकले सेवा दिएका छन्। संस्थाहरुको सहयोग बन्द भए व्यवस्थापनमा समस्या हुन्छ। अन्य स्थानीय तहले सहयोग नगरे उनीहरुका नागरिकलाई सेवा बन्द गर्न सक्छौं। तर आवास बन्द हुँदैन।’
जिल्ला सदमुकाम गोठलापानीमा अल्पकालीन सुरक्षीत आवास गृह सञ्चालनका लागि अन्तरपार्टी महिला संञ्चालले भवन बनाएको ८ वर्ष भयो। तर विवादका कारण त्यो सञ्चालनमा छैन।
सदरमुकामको पुरानो नगरपालिका दशरथचन्दले पनि हिंसा प्रभावितलाई पाटनकै सेफहाउसमा पठाउने गरेको छ। सेफहाउससँग आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा दिइरहेकाले सेवा ग्राहीको चाप बढी भएको समयमा व्यवस्थापन गर्न समस्या हुने गरेको छ।
पाटन नगरपालिका ६ मा सेफहाउसको भवन निमार्णका लागि संघीय सरकारबाट ८० लाख प्राप्त भइ ठेक्का भइसकेको निर्माण कम्पनीसँग सम्झौताको प्रक्रिया अगाडि बढेको नगर उपप्रमुख बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।