काठमाडौँ –नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आधार बनाएर देश गम्भीर राजनीतिक संकटको अवस्थातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले हालको परिस्थिति आकस्मिक नभई दुई प्रमुख घटनाक्रमबाट उत्पन्न भएको दाबी गरे। उनका अनुसार पहिलो चरणमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति नै वर्तमान तनावको सुरुवात बिन्दु हो।
थापाले उक्त अभिव्यक्तिपछि उत्पन्न राजनीतिक तरंग र त्यसपछिका घटनाक्रमलाई जोड्दै परिस्थिति थप जटिल बन्दै गएको बताए। उनले त्यसपछि रास्वपा सभापति रवि लामिछानेको विदेश भ्रमणका क्रममा व्यक्त भनाइले विवादलाई अर्को चरणमा पुर्याएको उल्लेख गरे।
उनका अनुसार विगतका राजनीतिक घटनाक्रम, सत्ता परिवर्तनका प्रसङ्ग र संवेदनशील कूटनीतिक टिप्पणीहरूलाई एकसाथ जोडेर हेर्दा वर्तमान संकटको स्वरूप स्पष्ट हुने उनको धारणा छ।
थापाले विगतका विभिन्न राजनीतिक खुलासाहरू र विवादित भनाइहरूलाई पनि उल्लेख गर्दै वर्तमान अवस्थासँग तिनको सम्बन्ध रहेको दाबी गरे। उनका अनुसार यी सबै घटनाक्रम मिलेर राष्ट्रिय राजनीतिक वातावरणमा अस्थिरता सिर्जना भएको छ।
उनले वर्तमान संकटको समाधानका लागि तीन सम्भावित मार्ग प्रस्तुत गरे। पहिलो, प्रधानमन्त्रीले संसदमा आएर आफ्नो भनाइ फिर्ता लिई माफी माग्ने, दोस्रो-रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई त्यसो गर्न प्रेरित गर्ने र तेस्रो- सभामुखले विवादित अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउने।
थापाका अनुसार यी विकल्पमध्ये कुनै एक प्रक्रियाबाट विवादको समाधान खोज्न सकिने भएकाले तत्काल राजनीतिक जिम्मेवारीसहित निर्णय आवश्यक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।