काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजका अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छन्।
नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी उनले शुभकामना दिएकी छन्।
नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको उल्लेख गरेकी छन्।
चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गर्दै शुभकामना सन्देशमा भनेकी छन्, 'बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, वेशभूषा, गीतसङ्गीतलाई संरक्षण तथा संवर्द्धन गरिरहेका हुन्छन्।'
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि हरितालिका तीजको अवसरका शुभकामना सन्देश दिएका छन्।
शुभकामना सन्देशमा उनले तीज सिर्जनशील र उल्लासमय बनोस् भनी कामना गरेका छन्। उपराष्ट्रपतिले भनेका छन्, 'पछिल्ला दिनमा बढेका बलात्कारजस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटना ज्यादै गम्भीर र चिन्ताको विषय हो। बलात्कार लगायत महिला हिंसाका घटनाका दोषीलाई कानुनी दायरामा ल्याई यस्ता घटनाको न्यूनीकरण गर्नुपर्दछ। यस वर्षको तीज पर्वले महिला हिंसा लगायत सबैखाले आपराधिक घटनालाई न्यूनीकरण गर्न सन्देश दिने अपेक्षा लिएको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।