कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको झुण्डले मंगललबार राति धानबाली सखाप पारेको छ।
हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका किसानको धानबाली नष्ट गरेको हो।
मध्यरातमा खेतमा पसेको हात्तीको झुण्डले स्थानीयबासी धौलीदेवी तमौली, टेकबहादुर साउद, अजवसिंह बोहरा र दिलबहादुर बोहराको धानबाली नोक्सान गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। ‘हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ,’ उनले भने, ‘खेत नजिकै रहेका घरमासमेत हात्तीले क्षति पुर्याएको छ।
तीन वर्षदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ।
हात्तीको झुण्डले गत वर्ष नगरपालिकाका वडा नं ७, ६, ५, ४, ३ र २ मा झण्डै २ सय किसानको धान र गहुँबाली नष्ट गरेको थियो।
हात्ती नियन्त्रणका लागि नगरपालिकाले प्रभावकारी योजना ल्याउन नसक्दा किसानले हैरानी खेप्नु परिरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।