काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताएका छन्।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा मंगलबार साँझ बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४३औँ बैठकमा उनले अन्तरमन्त्रालयबीच समन्वय गरेर ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्र बनाउन आवश्यक रहेको बताए।
आयोजना निर्माणमा लापरबाही गर्ने र समयमा पूर्वाधार निर्माणको काम नसक्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिँदै समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘अधिकतम प्रविधिको प्रयोग गरेर आयोजना तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ सबै सचेत हुन आवश्यक छ,’ उनले भने, ‘मन्त्रालय र विभागले पूँजीगत खर्च बढाउनेतर्फ जिम्मेवारीका साथ काम गर्नुपर्यो, मुलुकको प्राथमिकताको सूचीमा रहेको एउटै आयोजना ३० वर्षसम्म निर्माण सम्पन्न नहुने अवस्थाको अन्त्य हुनुपर्छ।’
स्रोत विवरण र मानवस्रोत योजना बनाउन निर्देशन दिँदै उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीपलाई सदुपयोग गर्ने र लगानीका लागि प्रेरित गर्ने नीति तथा वातावरण बनाउनुपर्नेमा जोड दिए।
आम नागरिकमा देखिएको खर्चालु प्रणाली, विधि र व्यवहार अन्त्य गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले मागेर होइन, कमाएर खाए मात्रै आत्मनिर्भर हुन सक्छौँ भन्ने आमजनतामा सन्देश पुर्याउन निर्देशनसमेत दिए।
राष्ट्रिय योजना आयोगलाई समेत व्यापक सुदृढीकरण गर्नुपर्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि कृषि, पर्यटनलगायतका क्षेत्रको विकास एवं विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
सो अवसरमा राष्ट्रिय योजना आयोगका तर्फबाट मुलुकको विकास निर्माणमा देखिएका समस्या, समाधानको उपाय र आयोजना सम्पन्न गर्न लाग्ने समय तालिकासहितको दृष्टिकोण प्रस्तुत गरिएको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।