काठमाडाैं- राष्ट्रियसभाका सदस्यहरूले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको प्रभावकारी छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्।
उनीहरूले मुलुकको राष्ट्रिय स्वाधिनता, अखण्डताको संरक्षण तथा प्रेस स्वतन्त्रताको प्रत्याभुति र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको सभाको बैठकमा बोल्दै सदस्यहरूले उनीहरूले मुलुकभरको शान्ति सुरक्षाको स्थिति बिग्रँदै गएकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए।
राधेश्याम अधिकारीले विभिन्न बहानामा पत्रकारलाई नियन्त्रणमा लिने काम भएको भन्दै नियन्त्रणमा लिईएका पत्रकारलाई अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उनले अपराध संहितामा लेखिएका साधारण कानुनका कारण सरकारले चाहेको अवस्थामा आफुहरूमाथि कुनै पनि अवस्थामा मुद्दा चलाउन सक्ने बताउँदै सञ्चार क्षेत्रले विरोध गरेका बेला खोजतलास डट कमका सम्पादकलाई नियन्त्रमा लिने काम भएको भन्दै सरकार निरंकुश बन्दै गईरहेको बताए।
उनले निर्मला पन्त तथा मुलुकभरका महिला हिंसाका घटनाको यथार्थ जानकारी गराउन गृहमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गरे।
महेश कुमार महराले निर्मला पन्तको हत्या छानबिन समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसीले धम्की आएका कारण राजनीमाना दिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूतितर्फ सरकारको ध्यानाकर्षण गराए। घटनाको यथार्थता लुकाउन राजनीतिक संरक्षणमा समितिका सदस्यलाई धम्की दिने काम हुँदा पनि त्यसप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाए। ‘धम्की दिने को हुन्? यहाँ राज्य छ कि छैन? राज्य गम्भीर हुनुपर्छ कि पर्दैन? राज्य भन्दा ठूला को छन् यहाँ?’ उनले प्रश्न गरे।
नेपालको नक्साबाट कालापानी हटाईएको र त्यस्ता नक्सा सरकारी कार्यालयमा राखिएकोप्रति उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनताका लागि फेरी एकपटक लड्नपर्ने अवस्था आएको उनले बताए।
राष्ट्रिय सभा सदस्य वृशेषचन्द्र लालले आइतबार बोलाईएको अन्तरप्रदेश परिषद्को बैठक बिना कारण स्थगित गरिएको भन्दै घोर आपत्ति जनाए। संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुनेछ भनेको तथा संघीय सरकार र प्रदेश सरकारबीच सरकार संचालन गर्न कुनै समस्या श्रृजना भए अन्तर प्रदेश परिषद्को बैठक बसी समस्या समाधान गर्न सकिने व्यवस्था भएको स्मरण गराउदै उहाँले बैठक स्थगित गर्नुको कारण माग गरे। अचानक बैठक स्थगित गर्नुले सही सन्देश नदिएको र आशंका जन्माएको भन्दै खेद प्रकट गरे। उहाँले संविधान विपरीत संघीय सरकारबाट भएको निर्णयबारे सदनलाई स्पष्ट पार्न लालले माग गरे।
बिमला राई पौडेलले उखु किसानको समस्या सम्बोधनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन्। नेपाली चिनी भन्दा भारतीय चिनीको बजार व्याप्त भएको भन्दै चिनी आयातको भन्सार बढाई र सरकारले उद्योगीसँग स्टकमा रहेको चिनी किनिदिने व्यवस्था गर्न माग गरिन्। उखुकिसानलाई सरकारले अनुदानको रूपमा दिने भनेको रकम उपलब्ध नभएको भन्दै तत्काल उपलब्ध गराउने व्यवस्था गर्न उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराइन्।
निर्मला पन्तको हत्या भएको भोलिपल्टदेखि नै आवाज उठिरहेको भन्दै घटनाको अनुसन्धानको दायरा फराकिलो बनाउन पौडेलले गृहमन्त्रीको ध्यानाकर्षण गराइन्। अनुसन्धान समितिका एक सदस्यले राजिनामा दिएको भन्दै उनले सबै क्षेत्रको प्रतिनिधित्व गराउन सरकारसंग माग गरिन्।
कांग्रेस सांसद बद्रि पाण्डेले तरुण दल रोल्पाका नगर सभापति रोहित पुनलाई सुलिचौरमा २४ गते सत्तारुढ दलका कार्यकर्ताको जत्थाले गोली प्रहार गरी हत्या गरेको भन्दै घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे। मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए। पछिल्लो समय मुलुकभर नै हत्याहिंसाका घटना बढ्दै जाँदा पनि दोषीलाई कारबाही नहुँदा आपराधिक गतिविधि बढ्दै जाने र त्यसले मुलुकमा ठूलो संकट निम्त्याउन सक्ने भएकाले समयमै गम्भीर बन्न आग्रह गरे।
सांसद युटोल तामाङले गुम्बा शिक्षाको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए। शिक्षा नियमावलीमा गुम्बा शिक्षाको व्यवस्थासहित छात्रवृत्तिको व्यवस्था गर्न उनले माग गरे।
राष्ट्रियसभाको अर्को बैठक भदौ २९ गते शुक्रबार ११ बजे बोलाईएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।