काठमाडौं- उच्च अदालत पाटनमा बहस चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी पक्षले बहस सुरु गरेको छ। पुनरावेदन पक्षको बहस सकिएपछि उच्च सरकारी वकिलहरुले बहस थालेका हुन्।
सह न्यायाधिवक्ता शंकर खत्रीको नेतृत्वमा ५ जना सरकारी वकिलहरुले हिजो चिया समयपछि बहस सुरु गरेका थिए। उक्त बहस बुधबार पनि निरन्तर रहेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए।
मंगलबार खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ। सोमबारबाट बहस सुरु गरेका रायमाझीका कानुन व्यवसायीले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन्।
मंगलबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका तर्फबाट बहस भएको थियो। रायमाझीका तर्फको बहस सकिएसँगै अब ३ जना प्रतिवादीहरुको तर्फबाट बहस भएको थियो। रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिलहरुले जवाफ दिन सुरु गरेका थिए।
सरकारी पक्षको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि पुनरावेदन निवेदनको फैसला आउनेछ।
उच्च अदालतका अनुसार सरकारी पक्षको आज बहस सकिएमा भोलि जवाफी बहस सकेर सम्भव भएसम्म निर्णय सुनाउने नत्र शुक्रबारसम्म सुनाउने तयारी गरेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौ रुपैयाँ ठगी गरेको पाइएपछि हाइप्रोफाइल व्यक्तिसहितलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो।
गत असार १ गते काठमाडौं जिल्ला अदालतले टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा र अन्य सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
जिल्लाको सोही आदेशविरुद्ध प्रतिवादीहरु उच्च गएका थिए। उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।