काठमाडौं– तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउको माग गर्दै आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ।
काठमाडौं जिल्ला अदालतअघि प्रदर्शनसहित तरुण दलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।
गत आइतबार दिउँसो करिब ४ः४५ बजेको समयमा रोल्पास्थित जिल्ला प्रहरी कार्यालय नजिकै पुनको गोली हानी हत्या गरिएको थियो। पुनको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले आज प्रजिअसमक्ष ज्ञापन पत्र बुझाइएको तरुण दलका केन्द्रीय अध्यक्ष कृष्णजी खड्काले बताए।

ज्ञापन पत्र बुझाउँदै दलले के–कती कारणले पुनको हत्या भएको हो सोको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ। तरुण दलले पुनलाई शहिद घोषणा गर्नुका साथै परिवारलाई उचित क्षतिपूर्तिकोसमेत व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ।
तरुण दलले देशमा शान्तिसुरक्षा कायम गर्न सरकार असफल भएको पनि ठहर गरेको छ। ज्ञापन पत्रमा भनिएको छ, ‘राज्यमा भएका हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्नु सरकारको दायित्व हो। जनताको दुर्भाग्य सो कार्य गर्न सरकार असफल भएको छ।’
तरुण दलले सरकार शान्तिसुरक्षा कायम गर्न असफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजिनामासमेत माग गरेको छ।
तरुण दलले बुझाएकाे ज्ञापन पत्र:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।