काठमाडौं- सामाजिक सञ्जालमार्फत यूकेको नागरिक हुँ भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पाँचथरको फिदिम नगरपालिका-११ घर भई झापाको बिर्तामोड नगरपालिका- ५ बस्ने ३४ वर्षीय कमला मिश्रलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो।
म यूकेको नागरिक हुँ, विवाह भएको छैन, एक्लो हुँ, आइफोन, ब्याग, सुनको घडी तथा ७० हजार पठाइदिन्छु भन्दै पटकपटक गरी ३ लाख ३० हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडितको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा मिश्रलाई काठमाडौं महानगरपालिका- २७ बाट आइतबार पक्राउ गरिएको हो। उनलाई विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।