काठमाडौं– जन्ममिति विवादमा परेपछि राजीनामा दिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ।
गत कात्तिक २३ गते राजीनामा बुझाएका पाण्डेको राजीनामा मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको हो। उपरथी पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका थिए।
उमेर कम देखाउन नागरिकता लगायत कागजात कीर्ते गरेको आरोपमा जंगी अड्डाले छानबिन सुरु गरेपछि पाण्डेले राजीनामा बुझाएका थिए। रथी बढुवाको बेला पाण्डेले नागरिकता लगायत कागजात कीर्ते गरेको भन्दै जन्ममिति विवाद सतहमा आएको थियो।
प्रधान सेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्ने तयारी गरेका थिए। तर बलाध्यक्ष रथी सीताराम खड्काले जन्ममिति विवाद भएको भन्दै बढुवा समितिमा असहमति जनाएका थिए।
अख्तियारले समेत यो विषयमा चासो राख्दै जन्ममिति विवाद छानबिन गर्न भन्दै निर्देशन दिएको थियो। नेपाली सेना भित्रको विषयहरु अख्तियारले हेर्न नमिल्ने भएकाले मुख्यालयलाई नै छानबिन गर्न भन्दै निर्देशन दिइएको थियो।
छानबिनका क्रममा पाण्डेका २ वटा फरक फरक जन्ममिति भएका नागरिकता भेटिएको थियो। शैक्षिक योग्यताको प्रमाणपत्र समेत केरमेट भएको भेटिएको थियो। रथीमा बढुवा भएर प्रधान सेनापति बन्ने लाइनमा रहेका भनिएका उनले जन्ममिति नै कीर्ते गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।