काठमाडौं- चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवादमा परेका तत्कालीन कार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने २५ लाख धरौटीमा छुटेका छन्।
विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको मुद्दामा थुनछेक बहसपछि धरौटी माग गर्ने आदेश गरेको थियो।
मंसिर ४ गते दुई न्यायाधीशको इजलासले माग गरेको धरौटी रकम बुझाएर उनी छुटेका छन्। लम्बोदरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ मा विशेष अदालतमा नेपाल इन्जिनियरिङ कलेजको करोडौं रकम हिनामिना गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दर्ता गरेको थियो।
सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
विभागले न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालक समिति सदस्यहरू रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको थियो।
विभागले लम्बोदर विरुद्ध १२ करोड ४४ लाख रुपैयाँ, रामरत्न उपाध्याय विरुद्ध १ करोड २५ लाख, उपेन्द्र गौतम विरुद्ध २ करोड २९ लाख, लवराज भट्टराई विरुद्ध १ करोड ७९ लाख, स्वर्गीय सुर्यबहादुर केसी विरुद्ध २ करोड ३४ लाख, हरिप्रसाद पाण्डे विरुद्ध २ करोड ४३ लाख तथा स्वर्गीय दीपक प्रसाद भट्टराईलाई समेत ३६ लाख ५९ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।
सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा २०७० सालदेखि २०७४ सालसम्म कार्यकारी अध्यक्ष हुँदा न्यौपानेले कलेजको करोडौं रकम हिनामिना गरेको आरोप लागेको थियो।
उक्त विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएका थिए। आयुक्तले घुस लिएको पाइएपछि पाठक र न्यौपाने विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।उक्त मुद्दामा विशेषले पूर्वआयुक्त पाठकलाई ३ वर्ष ३ महिना तथा न्यौपानेलाई ३ वर्ष कैद सजाय र जनही ३९ लाख जरिवाना फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।