काठमाडौं- सिरहामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी सिरहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना बुधबार साँझ सवा ७ बजे सिरहाको हुलाकी राजमार्गमा भएको थियो। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
सिरहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो।
उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्याउँदा तीनै जनालाई साढे ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन्। उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ ।
दुवै चालकले हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाएकोले बढी क्षति भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।