प्रतिकात्मक तस्बिर
जाजरकोट– भूकम्प प्रभावित जाजरकोटमा चिसोका कारण १ महिने शिशुको मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका १ महिनाकी छोरी निरुताको चिसोले मृत्यु भएको हो।
भेरी नगरपालिका–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार ३ दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।
चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।