काठमाडौं– चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच टेलिफोन वार्ता भएको छ। दुई देशबीच स्थापना भएको दौत्य सम्बन्धको ६०औं वार्षिक उत्सवको पूर्वसन्ध्याको अवसरमा दुई नेताबीच संवाद भएको चिनियाँ संचार माध्यमहरुले बताएका छन्।
राष्ट्रपति सीलाई उदृत गर्दै चिनियाँ सञ्चार माध्यमले लेखेका छन्, ‘सन् २०२४ मा दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सव मनाइने छ र दुवै पक्षले चीन(फ्रान्स सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुपर्छ।’
फ्रान्ससँगको उच्चस्तरीय आदानप्रदानलाई कायम गर्ने, आपसी उच्चस्तरीय सांस्कृतिक तथा मानवीय आदानप्रदान संयन्त्रको नयाँ बैठक राम्रोसँग आयोजना गर्ने, शैक्षिक, सांस्कृतिक र वैज्ञानिक अनुसन्धान सहकार्यमा नयाँ प्रगति हासिल गर्ने र दुई देशका जनताबीच मैत्रीपूर्ण आदानप्रदानलाई अघि बढाउने इच्छा चीनले लिएको पनि सीले व्यक्त गरेका छन्।
जवाफमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा फ्रान्स र चीनले पारस्परिक रणनीतिक संवाद र सहयोगलाई कायम गर्नु निकै महत्त्वपूर्ण रहेको भन्दै चीनसँगको कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको मौका पारी आगामी वर्ष चीनसँगको उच्चस्तरीय आदानप्रदानलाई सुदृढ पार्न र अर्थतन्त्र, व्यापार, उड्डयन र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रहरूमा हुने आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन फ्रान्स इच्छुक रहेको बताएको संचारमाध्यमहरुले उदृत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।