काठमाडौं– इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा सहायता बोकेका १९० भन्दा बढी ट्रकहरू पठाएको छ। इजिप्टको ताह्या मिस्र कोषले उपलब्ध गराएको २ हजार ५०० टन सहायता प्याकेज बोकेका ट्रकहरु रफाह सीमा नाका हुँदै गाजा प्रवेश गर्नेछन्।
इजिप्टको राजधानी कायरोमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले गाजामा हालसम्म २ तिहाइभन्दा बढी सहयोग इजिप्टबाट पठाएको बताए।
इजरायलले अक्टोबर ७ मा गाजा–सत्ताधारी हमास लडाकूहरूको नेतृत्वमा भएको आक्रमणको बदलास्वरूप गाजा पट्टीमा आक्रमण गरिरहेको छ। हमासको आक्रमणबाट इजरायल क्षेत्रमा १ हजार २०० जना मारिएका छन्। हमास समूहले २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको छ।
हमास समूहको आक्रमणबाट १० जना नेपाली विद्यार्थी समेत मारिएका थिए। १ जना नेपाली विद्यार्थी अझै हमास समूहको कब्जामा छन्।
जारी द्वन्द्वले तटीय एन्क्लेभमा १२ हजार प्यालेस्टाइनीहरूको मृत्यु भएको छ। गाजा पट्टीमा पानी, बिजुली, इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति बन्द गरिएको छ। अक्टोबर २१ देखि इजिप्टबाट राफा क्रसिङ हुँदै प्यालेस्टिनी एन्क्लेभमा सीमित मानवीय सहायतालाई अनुमति दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।