काठमाडौं- छठ पर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिँदैछ। पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन्।
३६ घण्टासम्म पानी समेत नखाई ब्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठी माताको पूजा आराधना गर्ने गरिन्छ।
आइतबार साँझ ब्रतालु महिलाहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। मधेसका जिल्लाहरुमा मनाइने छठ पर्व बसाइँसराइसँगै काठमाडौंमा पनि पछिल्लो समय भव्यताका साथ मनाइन थालिएको छ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फूलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका थिए।
छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।