रसुवा– धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध भएको छ। गोसाईकुण्ड गाउँपालिका–५ स्थित खोपाङ भिरमा पहिरो खसेपछि सोमबार साँझदेखि सडक अवरुद्द भएको हो।
यस स्थानमा बाढीले क्षति पुर्याउँदा करिब दुई हप्तासम्म सवारी साधन सञ्चालन हुन सकेको थिएन। गत सोमबार ब्लाष्टिङ गरेर सडक खुलाएको थियो।
धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको ३ स्थानमा बाढी र पहिरोको कारण सडकमा क्षति पुगेपछि करिब एक महिनासम्म कारोबार ठप्प भएको थियो।
पहिरो पन्छाउने कार्य मंगलबार बिहानैदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। आज साँझसम्ममा सडक सुचारु हुने अनुमान गरिएको छ।
बाढीपहिरोले क्षति गरेको सडक मर्मत गरेसँगै गत मंगलबारदेखि नाकामा सवारी साधन सञ्चालन सुरु भएको थियो।
५ दिनमा करिब १० करोड राजस्व संकलन भएको थियो। चाडपर्वको सामाग्री आयात सुरु भएको कारण सडक खुलाउन जोड दिनुपर्ने व्यापारी पुरुषोत्तम पौडेलले बताए।
चीनसँग जोड्ने अन्य नाका सञ्चालनमा आएका छैनन्। भूकम्प र पहिरोको कारण बन्द भएको तातोपानी नाका खुलाउने प्रयास भइरहेको छ।
अन्य नाका सञ्चालन नभएका कारण सडक मार्गबाट हुने व्यापार यही नाकाबाट भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।