काठमाडौं– मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
शुक्रबार घाइतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन्।
उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन्। उनले जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने बताइन्। चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको उनको भनाइ छ।
उनले भनिन्, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरु काममा लागिरहनुभएको छ। यसको बेटर म्यानेजमेन्ट गर्नेछौं। ६ जनाको अवस्था क्रिटिकल्ल छ।’
घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया सुरु गरिएको जानकारी दिए।
उनले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने बताए। सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
उनले भने, ‘५/६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आइतबार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ। सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ। प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौं। सरकारले गर्नसक्ने जति गर्नेछ। बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरुलाई निको पार्नेछौं।’
गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए। तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।