काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले सोमबार मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै मानव बेचबिखनमा संलग्न एजेन्टमाथि कडा कारबाही गर्न सरकारलाई सचेत गराएको हो।
कार्यक्रममा बोल्दै आयोगकी प्रवक्ता मोहना अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी निकायबीच रहेकोे सो सम्बन्धी तथ्यांक एकीकृत गर्न एकीकृत प्रणाली स्थापना गर्न पनि ध्यानाकर्षण गराइन्। सरकारी निकायहरुबीच आवश्यक समन्वयको अभावमा पनि नेपालमा मानव बेचबिखन बढ्दै गएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
पीडितले प्राप्त गर्ने क्षतिपूर्तिलाई सहज र सरल रुपमा उपलब्ध गराउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगकी प्रवक्ता अनसारीले मानव बेचबिखन नियन्त्रणका लागि संघीय ढाँचा अनुसार संरचना तत्काल निर्माण गर्न पनि सरकारलाई भनिएको बताइन्।
त्यसैगरी, आर्थिक तथा सामाजिक सशक्तिकरणका माध्यमबाट मानव बेचबिखन रोक्न पनि प्रभावकारी कदम चाल्न सरकारलाई पुुनः ध्यानाकर्षण गराउनु परेको आयोगकी प्रवक्ता अनसारीले बताइन्।
आयोगले गरिबी नै मानव बेचबिखनको मुख्य कारण रहेको औंल्याउँदै त्यसलाई निवारण गर्न पनि सरकारलाई सचेत गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।