राजविराज– कर फिर्ता र भ्रष्टाचार अन्त्यको माग गर्दै सप्तरीको बोदेबर्साइन नगरपालिकामा सोमबार प्रदर्शन गरिएको छ।
राजपा नेपाल बोदेबर्साइनको अगुवाइमा जम्मा भएका नगरवासीले कर वृद्धि तथा भ्रष्टाचारसहित जनभावना विपरीतका क्रियाकलाप तत्काल सच्याउन माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा कर वृद्धि खारेज तथा मालपोत करमा संशोधन, भ्रष्टाचार नियन्त्रण, कार्यालयमा कर्मचारीको नियमितता, आयोजना स्थलमा होडिङ बोर्ड, आयोजनाको गुणस्तरमा विशेष जोड दिन प्राविधिक निगरानी लगायतको माग गरिएको छ।

नगरबासीले प्रदर्शनपछि मेयर आतेशकुमार सिंहलाई भेटी ज्ञापन पत्र समेत बुझाएका छन्। अधिकांश टुक्रे योजना बन्द गरी नगर विकासका लागि दिगो र प्रभावकारी योजना सञ्चालन तथा जनप्रतिनिधिहरुले विभिन्न भत्ता र भ्रमणको लागि खर्च गरेको रकम मानवीय कार्य र नगर विकासमा लगाउन ज्ञापन पत्रमा माग गरिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेट र निति तथा कार्यक्रम नगरबासीलाई जानकारी नै नदिई लागू गरेको विषयमा असन्तुष्टि जनाउँदै आव २०७३/०७४ देखिको हरहिसाब सार्वजनिक गर्न पनि ज्ञापन पत्रमार्फत नगरबासीले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।