काठमाडौं– जाजरकोट भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठले जाजरकोट भूकम्प प्रभावितलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
यसअघि आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको थियो।
‘यस्तो रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सिधै उपलब्ध गराउने,’ सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुने।’
त्यस्तै, सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत् प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।