काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन्। मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुन:स्थापनाको विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।
कात्तिक १७ गते, शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको भुकम्पले पुर्याएको जनधनको क्षति, जारी उद्धार तथा राहत र भूकम्प प्रभावितहरुको पुन:स्थापनाका विषयमा निष्कर्षमा पुग्न भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसपछि पनि लगातार भुकम्पको धक्का महसुस भइरहेको छ।
भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने करिब ३५० जनाको हाराहारीमा घाइते भएका छन्।
दुवै जिल्लामा गरी १७ हजार ७०० बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। अन्य घरहरु चर्किएर बस्ने अवस्था छैन।
प्रधानमन्त्री प्रचण्डले शनिबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।