स्याङ्जा- श्रीमान्-श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वाभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिई सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ।
आफूलाई थाहा नै नदिई श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी छन्। 'मलाई थाहा नै नदिई कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो,' उनले रुँदै भनिन्। भीरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराएकी हुन्। उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए।
श्रीमान्ले कुटपिट गर्ने, खान लाउन नदिई राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएको उनको भनाइ छ। 'दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र असार ११ गते जिल्ला अदालतमा छोरीले अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको कुरा थाहा पाएँ,' उनले भनिन्।
२०४४ सालमा मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमान्ले ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको पीडितको भनाइ छ।
कुटपिट गर्ने गरेपछि पोखरा बस्दै आएकामा बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेको भन्दै मीनाकुमारीले आफूले न्याय पाउनुपर्ने बताइन्।
उक्त अदालतका स्रेस्तेदार आचार्यले अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको बताए। 'अदालतबाट दोस्रो पटक एक दैनिकमा २०७३ पुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र २०७४ बैसाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।