राजविराज– सप्तरीको राजविराज नगरपालिका–५ को कार्यालयमा बाढीपीडितहरुले तालाबन्दी गरेका छन्।
एक वर्षपछि वितरण गरिएको राहतमा समेत अनियमितता गरिएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको हो। जनप्रतिनिधि र कर्मचारी मिलेर बाढीपीडितको गलत तथ्यांक तयार गरेको र पटक–पटकको विरोधपछि तथ्यांक सुधार गर्ने सहमति गरेपनि जथाभाबी राहत वितरण गर्न थालेपछि तालाबन्दी गरिएको स्थानीय सञ्जय दासले बताए।
‘एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टाछुट्टै र क्षति नभएका घरहरु पनि पूर्ण क्षति भएको लिस्टमा छ’, उनले भने, ‘तर, बाढीले भत्काएका र ढलेका घरहरु पनि सामान्य क्षतिको लिस्टमा छन्।’
भारतीय नागरिक र पहिचान नै नखुलेका व्यक्तिका नाममा राहत हिनामिना गर्न खोजेपछि कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उनले बताए। राहतमा अनियमितता गरेको आरोपमा गत चैत दोश्रो साता पनि वडा कार्यालयमा तालाबन्दी गरिएको थियो। सिडिओ कार्यालयमा वडाध्यक्ष सहितका पदाधिकारी र आन्दोलनरत पक्षको छलफलले छानबिन समिति गठन गरी समस्याको समाधान गर्ने सहमति गरेपछि कार्यालयको तालाबन्दी खुलेपनि हालसम्म समस्याको समाधान भएको छैन।
वडाध्यक्ष समीर झाले बाढीपीडितको समस्या समाधान नभएसम्मका लागि कार्यालयमा लागेको ताला नखोल्ने सहमति गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।