काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ।
आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपाले वृक्षारोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ। मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्ट कक्षलगायत स्थानमा पिउने पानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले संविधान दिवस मनाउनका लागि तयारी गर्न सम्बन्धित सबै विभागीय प्रमुखलाई निर्देशन दिँदै सबै काम दिगो र प्रभावकारी रुपमा गर्नुपर्ने बताए। महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले ५ फिटभन्दा कम उचाइका बिरुवा नरोप्न, रोपिएका बिरुवालाई रोप्ने व्यक्ति वा संस्थालाई नै हुर्काउने जिम्मा लिन र बिरुवा रोपेर विज्ञापन राख्ने काम बन्द गर्न वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखालाई निर्देशन दिए।
दिवसका दिन मूल कार्यक्रममा सहभागी हुन आउने नागरिकलाई अघिल्ला वर्षमा जस्तो घाममा उभ्याउन नलगाई व्यवस्थित रुपमा बस्नका लागि स्थान तथा आवश्यक परेमा स्वास्थ्य सेवा र पानीको व्यवस्था कामपाले गर्नेछ। त्यससँगै ध्वजा पताकासहितको तोरण र बेलुन उडाइने तथा काठमाडौं उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेसागत समूहको प्रदर्शनमा महानगरले समन्वय गरिने काम कामपाको रहने बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।