काठमाडौं– राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर, काठमाडौंको टोली जाजरकोट पुगेको छ। शुक्रबार राति जाजरकोट केन्द्र बनाएर गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न केन्द्रको टोली त्यहाँ पुगेको हो।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।
‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ,’ खानी तथा भूकम्प विभागका महानिर्देशक अधिकारीले भने।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको जानकारी दिए। पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उनले उल्लेख गरे।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ। केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२:८ बजे ४.५, १२:२९ बजे ४.२, १२:३५ बजे ४.३ र शनिबार दिउँसो ३:४० बजे ४.२ रेक्टरस्केलको पराकम्प गएको छ।
उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ। भूकम्पबाट २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।